सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक जिल्ला सभापति पदका उम्मेदवार कुमार श्रेष्ठले आफू परिवर्तन, सुशासन र संस्थागत संगठन निर्माणको स्पष्ट योजनासहित नेतृत्वमा अघि बढेको बताएका छन्। आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै श्रेष्ठले रास्वपाको मूल अभियान परिवर्तन, पारदर्शिता, जनउत्तरदायित्व र सुशासनलाई जिल्लास्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जिल्ला सभापतिको भूमिका संगठनको नेतृत्वमा मात्र सीमित नरही पार्टी, जनता र राज्यका निकायबीच जिम्मेवार समन्वय गर्ने पुलका रूपमा रहने बताएका छन्। श्रेष्ठले पार्टीको विधान, नीति, सिद्धान्त र पद्धतिलाई व्यवहारमा उतार्दै वडा, पालिका र जिल्ला समितिलाई सक्रिय, सक्षम तथा उत्तरदायी बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गरेका छन्।
नियमित बैठक, प्रशिक्षण, संगठन विस्तार, जनसम्पर्क तथा सामाजिक अभियानमार्फत प्रत्येक समितिलाई चलायमान बनाइने उनको भनाइ छ। उनले जिल्ला समितिलाई केन्द्र, प्रदेश, पार्टीका केन्द्रीय विभाग, स्थानीय तह तथा सम्बन्धित सरकारी निकायसँग प्रभावकारी समन्वय गर्ने संयन्त्रका रूपमा विकास गरिने बताए। जिल्लाका समस्या, सम्भावना र जनताका आवाज सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि रचनात्मक पहल गरिने उनको प्रतिबद्धता छ। श्रेष्ठले विभिन्न सामाजिक, वैचारिक र राजनीतिक पृष्ठभूमिबाट आएका कार्यकर्तालाई पार्टीको सिद्धान्त, विधि र अनुशासनमा एकताबद्ध गर्दै क्षमता, विज्ञता, सक्रियता तथा जनउत्तरदायित्वका आधारमा निष्पक्ष रूपमा अवसर, प्रोत्साहन र नेतृत्व विकास गरिने बताएका छन्।
विगतका कमजोरी दोहोरिन नदिने, गुटभन्दा संगठनलाई प्राथमिकता दिने र संस्थागत नेतृत्वको संस्कृतिलाई बलियो बनाउने उनको भनाइ छ। आगामी ८–९ महिनापछि हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उनले अहिलेबाटै जिल्ला, पालिका र वडा समितिलाई राजनीतिक, वैचारिक, सामाजिक तथा संगठनात्मक रूपमा सुदृढ बनाइने योजना सार्वजनिक गरेका छन्। प्रत्येक टोल र बस्तीमा रास्वपाको सशक्त उपस्थिति स्थापित गर्दै जनताको विश्वास जित्ने, सक्षम नेतृत्व विकास गर्ने र स्थानीय निर्वाचनमा उत्कृष्ट परिणाम हासिल गर्ने गरी संगठन परिचालन गरिने उनले बताएका छन्।
श्रेष्ठले आफ्नो अभियानको मूल मन्त्र “सक्रिय संगठन, अनुशासित नेतृत्व, जनतासँग प्रत्यक्ष सम्बन्ध, विधिमा आधारित पार्टी सञ्चालन र समृद्ध सिन्धुपाल्चोक निर्माणमा रास्वपालाई पहिलो रोजाइ बनाउने” रहेको उल्लेख गरेका छन्। उनले अन्त्यमा “व्यक्तिभन्दा माथि पार्टी, पार्टीभन्दा माथि विधि र विधिभन्दा माथि जनताको विश्वास” भन्ने मान्यतासहित सम्पूर्ण नेता–कार्यकर्तालाई एकताबद्ध भएर संगठन बलियो बनाउन र सिन्धुपाल्चोकलाई रास्वपामय बनाउन आह्वान गरेका छन्।







तपाईको प्रतिक्रिया !