Category: समाचार

  • आमिर खानले तेस्रो पटक बिबाह गर्दै, प्रेमिका गौरी हुनेछिन नयाँ दुलही

    आमिर खानले तेस्रो पटक बिबाह गर्दै, प्रेमिका गौरी हुनेछिन नयाँ दुलही

    मुम्बई, २२ जेठ । बलिउड अभिनेता आमिर खान र उनकी प्रेमिका गौरी स्प्राट चाँडै नै विवाह बन्धनमा बाँधिने तयारीमा छन्।

    हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार यो जोडीले यस वर्ष जुलाई ५ मा एक निजी समारोहमा विवाह गर्नेछन्। तर, यो बिबाह कुनै भव्य समारोह वा स्वागत समारोह हुने छैन।

     

    दुवैले एउटा सानो हस्ताक्षर समारोह मार्फत आफ्नो सम्बन्धलाई औपचारिक बनाउने छन्। आमिर खानले २०२५ मा आफ्नो ६० औं जन्मदिनमा मिडियालाई गौरीसँगको आफ्नो सम्बन्धको पुष्टि गरेका थिए । यो आमिर खानको तेस्रो विवाह हुनेछ।

     

    आमिरले पहिलो विवाह १९८६ मा फिल्म निर्माता रीना दत्तासँग गरेका थिए। सन २००२ मा रीनासँग अलग भएपछि आमिरले २००५ मा निर्देशक किरण रावसँग विवाह गरे। किरण र आमिरले २०२१ मा सम्बन्ध विच्छेद गरिसकेका छन् ।

     

    मिडिया रिपोर्टका अनुसार आमिर र गौरी एक वर्षभन्दा बढी समयदेखि लिभ–इन–पार्टनरको रूपमा सँगै बस्दै आएका छन्। स्रोतहरूले उनीहरू सँगै खुसी र स्थिर जीवन बिताइरहेका संकेत गरेको छ ।

     

    अब, उनीहरूले आफ्नो परिवारको उपस्थितिमा आफ्नो सम्बन्धलाई कानुनी रूपमा स्वीकार गर्ने निर्णय गरेका छन्। जोडीको विवाह एक निजी मामिला हुनेछ, जसमा उनीहरूका परिवार र धेरै नजिकका साथीहरू मात्र उपस्थित हुनेछन्।

  • ओपीडी सेवा सहज बनाउन टिचिङ अस्पताललाई महानगरको १ करोड ७० लाखको सहयोग

    ओपीडी सेवा सहज बनाउन टिचिङ अस्पताललाई महानगरको १ करोड ७० लाखको सहयोग

    काठमाडौं, २२ जेठ । काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको ओपीडी सेवालाई थप प्रविधिमैत्री बनाउन करिब १ करोड ७० लाख रुपैयाँ बराबरका आधुनिक उपकरण तथा सूचना प्रविधि प्रणाली हस्तान्तरण गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुवास आचार्यलाई १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन र ६५ वटा ‘अल–इन–वन’ कम्प्युटर हस्तान्तरण गरेकी हुन्।

    उक्त उपकरणमार्फत बिरामीले शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा उपचारसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्। साथै, अस्पतालको सर्भर र र्याम क्षमता विस्तार गरी स्वास्थ्य अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको छ।

    कार्यवाहक प्रमुख डंगोलले डिजिटल स्वास्थ्य सेवामार्फत नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताइन्। अस्पतालका कार्यकारी निर्देशक आचार्यले यस सहयोगले ओपीडी व्यवस्थापनमा सुधार ल्याउने र भविष्यमा क्यान्सर उपचारलगायतका सेवा ‘पेपरलेस’ तथा ‘फेसलेस’ बनाउन सहयोग पुग्ने उल्लेख गरे। महानगरले यसअघि पनि कोभिड–१९ नियन्त्रणका लागि विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो।

  • परराष्ट्र मन्त्री आज भारत जाने

    परराष्ट्र मन्त्री आज भारत जाने

    काठमाडौं, २२ जेठ । परराष्ट्र मन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।

    परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गर्दै मन्त्री खनालको तीन दिने भारत भ्रमण तय भएको जानकारी दिएको हो ।

    मन्त्रालयका अनुसार भारतीय विदेश मन्त्री डा. एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारतमा रहनेछन्।

    भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच औपचारिक द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। वार्तामा दुई देशबीचको साझा चासो र पारस्परिक हितसँग सम्बन्धित विविध विषयमा छलफल हुने जनाइएको छ।

    विशेष गरी व्यापार, लगानी, ऊर्जा सहकार्य, यातायात तथा सम्पर्क सञ्जाल विस्तार र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषय बैठकको प्रमुख एजेन्डामा रहनेछ।

    परराष्ट्र मन्त्रालयले यस भ्रमणलाई नेपाल।भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय संवादको निरन्तरताका रूपमा लिँदै यसबाट द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ। मन्त्रालयका अनुसार ऐतिहासिक, कूटनीतिक तथा बहु आयामिक सम्बन्धलाई अझ सघन बनाउने दिशामा भ्रमण फलदायी हुने विश्वास गरिएको छ।

    निर्धारित कार्यक्रमअनुसार परराष्ट्र मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किनेछन्।

  • चिनियाँ राष्ट्रपति सि जिनपिङ साेमवार उत्तर कोरिया जाँदै

    चिनियाँ राष्ट्रपति सि जिनपिङ साेमवार उत्तर कोरिया जाँदै

    बेइजिङ, २२ जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने उत्तर कोरिया भ्रमणमा निस्कने भएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङले कोरियाली सरकारको निमन्त्रणामा दुई दिने भ्रमणमा जान लागेका हुन् ।

    उत्तर कोरिया श्रमिक पार्टीका महासचिव तथा उत्तर कोरियाली राज्य मामिलाका अध्यक्ष किम जोङ उनको निमन्त्रणामा जुन ८ देखि ९ सम्म प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डीपीआरके) को राजकीय भ्रमण निस्कन लागेको चिनियाँ समाचार संस्थाले जनाएका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ताका अनुसार सो भ्रमणको क्रममा दुई देशको सबन्ध थप बिस्तारका बारेमा छलफल हुनेछ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादीमर पुटिनले चीन भ्रमण गरेको दुई साता पछि राष्ट्रपति सि उत्तर कोरिया भ्रमणमा निस्कन लागेका हुन ।

  • कुशलको कीर्तिमानी शतकमा मलेसियालाई विशाल लक्ष्य

    कुशलको कीर्तिमानी शतकमा मलेसियालाई विशाल लक्ष्य

    काठमाडौं, २१ जेठ । नेपालले एसियन गेम्स पुरुष क्रिकेटको छनोट प्रतियोगितामा मलेसियालाई २७५ रनको विशाल लक्ष्य दिएको छ ।

     

    ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकको सहयोगमा नेपालले विशाल लक्ष्य मलेसिया सामु प्रस्तुत गरेको हो ।

     

    सिंगापुरमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल तयार पार्न सफल भएको हो ।

    ओपनर कुशलले ५४ बलमा १४ चौका र ८ छक्काको सहयोगमा सर्वाधिक १२६ रनको शतकीय इनिङ पार गरेका थिए । कुशलको ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो लगातार दोस्रो शतक हो । यो सफलता  प्राप्त गर्ने उनी पहिलो नेपाली क्रिकेटरसमेत हुन् ।

     

    उनले आफ्नो ट्वान्टी अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक ४४ बलमा पूरा गरेका थिए । त्यस्तै, अर्का ओपनर आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा ६८ रनको इनिङ खेलेका थिए भने पहिलो विकेटका लागि आसिफ र कुशलले १३४ रनको साझेदारी गरेका थिए ।

     

    कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३१ रन बनाउन सफल हुदाँ सन्दीप जोराले १४ बलमा १५ तथा लोकेश बमले ६ बलमा १० रन जोडेका थिए ।

     

    मलेसियाका लागि विरनदिप सिंहले ३ तथा विजय उन्नी र सइद अजिजले समान २ विकेट लिए सँगै नेपालले मलेसिया सामु बिशाल लक्ष्य प्रस्तुत गरेको हो ।

  • तलब सहमतिपछि कटहरिया नगरपालिकाको खुल्याे तालाबन्दी

    रौतहट, २१ जेठ । बक्यौता तलबको माग गर्दै रौतहटको कटहरिया नगरपालिकामा गरिएको तालाबन्दी सहमतिपछि खुलेको छ। कर्मचारी र पालिका बीच भएको छलफलपछि तलब भुक्तानी गर्ने सहमति जुटेसँगै नगरपालिका तथा वडा कार्यालयहरू पुनः सञ्चालनमा आएका छन्।

     

    मेयर अजय प्रकाश जैसवालका प्रतिनिधि नगर कार्यपालिका सदस्य मनोज जैसवालका अनुसार कर्मचारीहरूको रोकिएको तलब जेठ मसान्तभित्र भुक्तानी गर्ने सहमति भएको छ। साथै क्यान्सरपीडित कर्मचारी श्रीराउत बरैलाई तलबको ५० प्रतिशत रकम तत्काल नगद उपलब्ध गराउने निर्णय पनि गरिएको उनले जानकारी दिए।

     

    “वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा सरोकारवालाबीचको छलफलपछि समस्या समाधान भएको हो। बैंक खाता सञ्चालनमा आएलगत्तै तलब भुक्तानी हुन्छ,” उनले भने।

     

    उनका अनुसार बाह्य दबाब वा राजनीतिक हस्तक्षेपका कारण नभई पालिकाभित्रकै आपसी समझदारीबाट समस्या समाधान गरिएको हो।

     

    यस्तै वडा नं. ८ का अध्यक्ष समिश विक्रम साहले सर्वसम्मत निर्णयपछि तालाबन्दी खोलिएको बताएका छन्। उनले यसपटक कर्मचारीहरूले निश्चित रूपमा तलब पाउने विश्वास व्यक्त गरेका छन्।

     

    वडा  २ का अध्यक्ष हरिन्द्र साह कलवारले क्यान्सरपीडित कर्मचारीको उपचार सहयोगका लागि १ लाख २५ हजार रुपैयाँ व्यक्तिगत खातामा संकलन भइसकेको जानकारी दिएका छन्। तलब निकासा भएपछि उक्त रकम फिर्ता गरिने समझदारीसमेत भएको उनले बताएका छन्।

     

    तलब भुक्तानीमा ढिलाइको कारणबारे आगामी कार्यपालिका बैठकमा गम्भीर समीक्षा गरिने जनाइएको छ।

     

    तालाबन्दीका कारण लामो समयदेखि प्रभावित बनेको नगरपालिका तथा वडा कार्यालयका सेवाहरू अब पुनः नियमित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ। तलबको माग गर्दै आन्दोलित कर्मचारीले दुईसाता देखि पालिकाको नौ वटै वडा कार्यालयमा तालाबन्दी गरेका थिए। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत को कार्यकक्षमा गत ११ गतेदेखि र पालिकाको मूल गेटमा चारदिन अघि देखी तालाबन्दी गरेका थिए।