सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को चुनावी मैदान यसपटक निकै रोचक र चुनौतीपूर्ण बन्ने देखिएको छ। परम्परागत शक्ति सन्तुलनलाई उथलपुथल पार्दै यस क्षेत्रमा नयाँ राजनीतिक लहरको प्रवेश भएपछि पुराना दलहरूका लागि बिरासत जोगाउनु फलामको चिउरा चपाउनु सरह भएको छ।
यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी नेकपा बाट पूर्व सांसद माधव सापकोटा, नेपाली कांग्रेसका जंग बहादुर लामा र नेकपा एमालेका सरेश नेपाल जस्ता स्थापित अनुहारहरू चुनावी मैदानमा छन्। तर स्थानीय स्तरमा देखिएको असन्तुष्टि र फेरिएको राजनीतिक चेतका कारण यी तीनै हस्तीहरूलाई यसपटक मतदाता फकाउन हम्मे हम्मे परेको छ।
विगतको विरासत जोगाउने चुनौतीमा रहेका सापकोटाका लागि यसपटकको तारा अस्ताउने खतरा बढेको छ। कांग्रेसको रुख आन्तरिक किचलो र नयाँ विकल्पको खोजीमा रहेका युवा मतदाताका कारण कांग्रेसको रुख ढल्ने संघारमा पुगेको चर्चा चुलिएको छ।एमालेको सूर्य संगठन बलियो दाबी गरिए पनि एमालेका सरेश नेपालका लागि सूर्य उदाउने परिस्थिति झन् झन् धमिलो बन्दै गएको छ।
पछिल्लो समय सिन्धुपाल्चोक १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार भरत पराजुलीको पक्षमा जनलहर ह्वात्तै बढेको छ। पुराना दलहरूले जनताका आधारभूत आवश्यकतालाई बेवास्ता गरेको भन्दै मतदाताहरू घण्टी चुनाव चिह्नप्रति आकर्षित भएका हुन्।
पुराना दलले आश्वासन मात्र बाँडे, काम गरेनन्। त्यसैले यसपटक हामी नयाँ विकल्पको पक्षमा छौँ, भन्ने आवाज गाउँ गाउँमा सुिनन थालेको छ।पराजुलीको बढ्दो लोकप्रियताले स्थापित दलहरूको टाउको दुखाइ बनेको छ। यदि अहिलेकै लहर कायम रहने हो भने सिन्धुपाल्चोक १ मा यसपटक राजनीतिक क्रान्ति हुने निश्चित छ। कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरूले आफ्नो रणनीति बदल्न सकेनन् भने यसपटकको नतिजाले पुराना किल्लाहरू ध्वस्त पार्ने संकेत देखिएको छ।







तपाईको प्रतिक्रिया !