काठमाडौं । महाधिवेशनबाट नीति र नेतृत्व स्थापित गर्नुसाटो एकपछि अर्को कामचलाउ निर्णय गर्दै जाँदाको असर रास्वपाले भोग्न थालेको छ ।
शनिबार रास्वपा केन्द्रीय समितिको भर्चुअल बैठकको अन्तिममा झटपट शैलीमा राखिएको सचिवालय विस्तारको एजेन्डा उठेसँगै पार्टीभित्र फेरि विवाद उछालिएको हो । केन्द्रीय समितिको भर्चुअल बैठकबाट सचिवालय सदस्यमा चार जना थपेसँगै पार्टीभित्र तीव्र मतभेद देखिएको छ ।
सचिवालयमा पदोन्नति गर्दा पछिल्लो संसदीय चुनावमा प्रत्यक्षतर्फ जित्नसक्नुलाई आधार बनाइएको छ, जबकि त्यसमा प्रत्यक्षतर्फ जितेकी तोसिमा कार्कीको नाम भने समावेश छैन । अनि जेनजी विद्रोहपछि नयाँ चुनाव घोषणामार्फत् पुरानो चुनावी मतको वैधता नै समाप्त भएका बेला रास्वपाले विघटित संसदको मतादेशलाई आधार लिन पुगेको छ । रास्वपा स्वयंले पनि जेनजी विद्रोहका बेला संसद विघटन माग गर्दै सांसदहरूको सामूहिक राजीनामा घोषणा गरेको थियो ।
२०७९ सालमा संघीय निर्वाचनमा चुनावमा निर्वाचित सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र हरि ढकाललाई सचिवालय सदस्यमा थप गरिएको छ ।
रास्वपाको संशोधित विधान अनुसार सचिवालयको संख्या २५ जनाको हुने व्यवस्था छ । ‘पार्टी सचिवालयको गठन पार्टी सभापतिले आफूसहित निर्वाचित पदाधिकारीहरू, कोषाध्यक्ष, प्रवक्ता र बाँकी सदस्यहरू केन्द्रीय समितिबाट सभापतिले मनोनीत गरी २५ जनासम्मको पार्टी सचिवालय गठन गरी केन्द्रीय समितिमा जानकारी दिनुपर्नेछ,’ विधानमा भनिएको छ ।
पार्टी सचिवालय गठन गर्दा पदाधिकारी बाहेकका सदस्यहरूबाट समेत गर्न सकिने व्यवस्था छ । सभापति रवि लामिछानेले कार्यवाहकको जिम्मेवारी उपसभापति डीपी अर्याललाई तोकेको हुनाले शनिबार अर्यालले सचिवालय सदस्य थपेको जानकारी गराएका थिए ।
विधानको प्रावधान अनुसार कार्यवाहक सभापति अर्यालले चार जना थप गरेका हुन् । चार जना थपिए पनि सचिवालयले पूर्णता पाएको छैन ।







तपाईको प्रतिक्रिया !