काठमाडौं, २२ जेठ । काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको ओपीडी सेवालाई थप प्रविधिमैत्री बनाउन करिब १ करोड ७० लाख रुपैयाँ बराबरका आधुनिक उपकरण तथा सूचना प्रविधि प्रणाली हस्तान्तरण गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुवास आचार्यलाई १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन र ६५ वटा ‘अल–इन–वन’ कम्प्युटर हस्तान्तरण गरेकी हुन्।
उक्त उपकरणमार्फत बिरामीले शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा उपचारसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्। साथै, अस्पतालको सर्भर र र्याम क्षमता विस्तार गरी स्वास्थ्य अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको छ।
कार्यवाहक प्रमुख डंगोलले डिजिटल स्वास्थ्य सेवामार्फत नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताइन्। अस्पतालका कार्यकारी निर्देशक आचार्यले यस सहयोगले ओपीडी व्यवस्थापनमा सुधार ल्याउने र भविष्यमा क्यान्सर उपचारलगायतका सेवा ‘पेपरलेस’ तथा ‘फेसलेस’ बनाउन सहयोग पुग्ने उल्लेख गरे। महानगरले यसअघि पनि कोभिड–१९ नियन्त्रणका लागि विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो।
